काठमाण्डौं । सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ। पूर्वाधार विकास मन्त्रालयमा मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच यसबारे त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौताअनुसार अब यातायात व्यवस्था विभागले सञ्चालन गरिरहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जोडिनेछ। प्रणालीमा डाटा पुगेसँगै लाइसेन्स छपाइको सम्पूर्ण काम सुरक्षण मुद्रण केन्द्रबाटै हुने व्यवस्था मिलाइएको छ।
त्यस्तै, प्रणालीमार्फत छापिएका लाइसेन्सहरू सम्बन्धित प्रदेश कार्यालयहरूमा पठाएर वितरण गर्ने वा सेवाग्राहीले चाहेको ठेगानामा सिधै हुलाकमार्फत पुर्याउने कार्यलाई व्यवस्थित बनाइनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको लाइसेन्स छपाइ तथा वितरण प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
