काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका समस्यालाई स्वीकार गरेर व्यवहारमा समेत सुधार गर्नुपर्ने बताएका छन् । समस्या रहेको महसुस गर्ने तर त्यसअनुसार नेतृत्वको व्यवहार परिवर्तन नगर्ने हो भने त्यसले सकारात्मक परिणाम नदिने उनको धारणा छ । मंगलबार जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैली तर्फ संकेत गर्दै पार्टीभित्रको समस्या समाधानका लागि आत्मसमीक्षा र व्यवहारिक सुधार आवश्यक रहेको बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले आफूले ओलीलाई अध्यक्ष र नेताका रूपमा स्वीकार गरिरहेको स्पष्ट पारेका थिए । कुनै विषयमा आफूले असहमति राख्दैमा नेतृत्वलाई अस्वीकार गरेको अर्थ नलाग्ने उनको भनाइ थियो । ‘तपाईंलाई भ्रम परेको छ । मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन,’ पोखरेलको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईं र मेरो दूरी छैन ।’
पोखरेलले पार्टीभित्र समस्या रहेको यथार्थलाई स्वीकार गरेर मात्रै त्यसको समाधान खोज्न सकिने धारणा राखेका थिए । उनले नेतृत्वले कार्यकर्तालाई समान दृष्टिले हेर्नुपर्नेमा समेत जोड दिएका थिए । ‘पार्टीभित्र समस्या छन्, रियलाइजेसन गरौं । अनि मात्रै समाधान हुन्छ,’ पोखरेलले भनेका थिए, ‘तपाईंलाई नेता मानेकै छु तर नेतृत्व मिलेन । तपाईंले कार्यकर्तालाई समान रूपले हेर्ने दृष्टिकोण राख्नुपर्यो ।’
उनले पार्टीमा राजनीतिक, वैचारिक र सैद्धान्तिक तहमा समेत समस्या देखिएको उल्लेख गरेका थिए । यस्ता समस्याका कारण जनतामा पार्टीप्रतिको स्वीकार्यता कमजोर हुँदै गएको उनको धारणा थियो । पोखरेलले पार्टी सुधारका लागि गठन भएको कार्यदलले लामो मेहनतपछि तयार पारेको प्रतिवेदनलाई बेवास्ता गर्न नहुने बताएका थिए ।
प्रतिवेदनमा समस्या पहिचान गर्ने तर व्यवहारमा भने पुरानै शैली कायम राख्ने हो भने सुधार सम्भव नहुने उनको भनाइ थियो । ‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘प्रतिवेदनमा रियलाइजेसन गर्ने, तर व्यवहार चाहिँ यथावत् रहने कुराले ठीक हुँदैन ।’
उनले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक बुझेर मात्रै पार्टीले आगामी निर्णय लिनुपर्ने धारणा राखेका थिए । जनताले व्यक्त गरेको असन्तुष्टिको कारण नबुझी गरिने निर्णयले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको भनाइ थियो ।
यसअघि सोमबारको बैठकमा अध्यक्ष ओलीले महासचिव पोखरेललाई कुनै भूमिका नदिएको विषयमा पनि एमालेभित्र चर्चा भएको थियो । त्यसपछि पोखरेलले गुण्डु पुगेर ओलीसँग बैठक सञ्चालनको शैली तथा पार्टीभित्रको पछिल्लो अवस्थाबारे असहमति र ध्यानाकर्षण गराएको बताइएको छ ।
