काठमाण्डौं । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ ।
त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य–भागमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै जाने सम्भावना छ ।
यसको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जनाइएको छ । भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले जोखिमयुक्त स्थानमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न, सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
त्यस्तै, जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आवश्यक तयारी गर्न भनिएको छ ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला–नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न सकिनेछ । साथै, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
