काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको दाबी गरेको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै विभागले चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेकोले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न अनुरोध गरेको छ।
हालै भोटेकोशी नदीमा आएको बाढीपहिरो तथा पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई लिएर चिनीको अभाव हुन सक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित गरेपनि अभाव नरहेको विभागको भनाइ छ।
भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको विभागले जनाएको छ। यस्तै, चिनीको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा चिनी सञ्चय नगर्न विभागले आग्रह गरेको छ।
