मलेसिया । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स ( युएई ) बीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो ।
नेपालका लागि बलियो योगफल खडा गर्न ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे । यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए । यो खेलको विजेताले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ । आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र युएई दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् ।
नेपाल सन् २०२३ र युएई २०२४ को संस्करणको विजेता टोली हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युएईले १९ खेलमा एकअर्काको सामना गरेका छन्। जसमा नेपालले ११ र युएईले आठ खेलमा जित निकालेको विगत छ।
