काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ। सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएपछि ग्यास ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण चुनौतीपूर्ण बनेको संघले जनाएको हो। समस्या समाधानका लागि सोही दिन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच छलफल भएको थियो। छलफलपछि काठमाडौं उपत्यकामा बजार व्यवस्थापन गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन दिने निर्णय भएको संघले जनाएको छ।
संघका अनुसार हेटौँडास्थित सहरा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी करिब १३१ किलोमिटर दूरी तय गर्दा थप ढुवानी खर्च प्रतिसिलिन्डर रु. ९३ रुपैयाँ २६ पैसा पर्ने र नियमअनुसार लाग्ने करसहित उक्त रकम रु. १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघको ३१औँ वार्षिक साधारणसभाले काठमाडौं उपत्यकामा ग्यास बिक्री–वितरण गर्ने उद्योगहरूलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर रु. २ हजार ६० मा थप ढुवानी खर्चबापत रु. १०५ रुपैयाँ ३८ पैसा भन्दा बढी नलिन आग्रह गरेको छ।
यसअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर अधिकतम रु। २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री–वितरण गर्न संघले ग्यास उद्योगहरूलाई अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा विषम परिस्थितिलाई ध्यानमा राख्दै संघ, ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगर्न र नगराउनसमेत आग्रह गरिएको छ। संघले सडक अवरोधका कारण उत्पन्न असहज परिस्थितिमा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ढुवानीको व्यवस्था गरिएको भन्दै उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नतिर्नसमेत आग्रह गरेको छ।
