मकवानपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव कम गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं पठाइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट भरिएका एलपी ग्यासका १०० ट्रक वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको छ।
भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो। त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेपछि केही दिनयता उपभोक्ताले ग्यास अभावको समस्या भोग्दै आएका छन्। मन्त्रालयले उक्त समस्यालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायसँग निरन्तर संवाद, समन्वय र सहजीकरण गरी आपूर्ति व्यवस्था सहज बनाउन पहल भइरहेको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिने मन्त्रालयले जनाएको छ। नेपाल आयल निगम तथा एलपी ग्यास व्यवसायीसँगको सहकार्यमा काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको विश्वास छ।
