काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकराी दिए ।
प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअगाडि यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो । ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा ब्रिफिङ गर्न लागेका हुन् । त्यसपछाडि संसद्मा दलीय आधारमा नेताहरूको सम्बोधन हुन्छ ।अन्तिममा सभामुख अर्यालले विशेष प्रस्ताव राख्नेछन् । यसअघि मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो । विशेष प्रस्ताव प्रस्तुत हुनु अगाडि राष्ट्रिय सभामा पनि सांसदहरूले विपद्बारे बोलेका थिए । तर राष्ट्रिय सभामा भने सरकारको तर्फबाट बाढीबारे कुनै जानकारी प्रस्तुत गरिएको थिए । प्रतिनिधिसभामा भने प्रधानमन्त्री बालेनले सुरुमै सम्बोधन गर्न लागेका हुन् ।
