काठमाडौं । बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस स्थापना गरेको छ।
सशस्त्र प्रहरीका अनुसार धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा अस्थायी बेस स्थापना गरिएको हो। धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३बी, स्याफ्रुबेंसी र बोगटिटारमा बेस स्थापना गरिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक अस्थायी बेसमा १५ देखि ३५ जनासम्मको उद्धार टोली खटाइएको सशस्त्र प्रहरीले जनाएको छ।
ती टोलीमा विशेष तालिमप्राप्त उद्धारकर्मीसमेत रहेका छन्। उद्धारका लागि कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु ( सीएसएसआर ) , मेडिकल फर्स्ट रेस्पोन्डर ( एमएफआर ) , खोजी कुकुर, ड्रोन, रोप रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम तथा मास क्याजुअल्टी भेहिकल ( एमसीभी ) सहितका विशेष टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन अस्थायी बेसमार्फत जनशक्ति र आवश्यक स्रोतसाधन परिचालन गरिएको हो।
