काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रदेखि स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटेको एमालेको नेता प्रदीप ज्ञवालीले बताए।
उनले भने, केन्द्रमा हामीले जसरी सर्वदलीय संयन्त्र बनाएर छलफल गरिरहेका छौँ त्यसैगरी नै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर जाने कुरा भएको छ। पालिकामा पालिका अध्यक्ष, प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र बनाएर जान सरकारलाई सुझाव दिएको बताए । उनले सर्वदलीय बैठक प्रधानमन्त्रीले राख्नु राम्रो हुने भए पनि रास्वपाले पहल गरेको बताए । सर्वदलीय बैठकका लागि सरकारले चासो लिनुपर्ने उनको भनाइ छ ।
केन्द्रमा रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीति संयन्त्र बनेजस्तै बागमती प्रदेश, बाढी प्रभावित जिल्ला र पालिकामा राजनीतिक संयन्त्र बनाउने सहमति भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए । यस्ता संयन्त्रले सरकारलाई उद्धार, राहत र पुनर्निर्माणसम्म संयन्त्रले काम गर्ने बताए ।
