काठमाण्डौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ ( आईटीयू ) ले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहजै स्थापित गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई २० थान स्याटलाइट फोन सहयोगस्वरुप पठाएको छ। प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले शनिबार आईटीयूले पठाएको २० थान स्याटेलाइट फोन आफूहरूले बुझेको जानकारी दिए।
‘हिजो हामीले २० थान स्याटलाइट फोन आईटीयूबाट प्राप्त गरेका छौं। अब सरकारसँगको समन्वयमा रसुवा, नुवाकोटसहित बढी प्रभावित क्षेत्रहरूमा यी फोन पठाउनेछौं। यो फोन चलाउन टेलिकम कम्पनीहरूको टावरमा भर पर्नुपर्दैन। बाढीले क्षति पुर्याएका स्थानमा सोझै स्याटेलाइटबाटै यी फोन प्रयोग गरेर चलाउन सकिन्छ’, अर्यालले भने। आईटीयूले प्राधिकरणलाई तीन महिनाका लागि यो फोन उपलब्ध गराएको छ।
तीन महिनापछि फिर्ता गरिने अर्यालले जानकारी दिए। यसअघि दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि सरकारलाई पाँच थान स्याटेलाइट फोन सहयोगस्वरुप उपलब्ध गराएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ।
