काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभरि निरन्तर सञ्चालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।
नदीको जलसतह अत्यधिक बढेपछि आयोजनाको क्षेत्र आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ। त्यसपछि सरकारले आयोजना क्षेत्रमा थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउँदै समग्र अवस्थाको निरन्तर अवलोकन गरिरहेको जनाएको छ।
बाढी र पहिरोका कारण आयोजनाको क्षेत्रमा थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली ‘३ ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी समेत गरिएको छ।
आयोजनाको टनेल पोर्टल र पावर हाउसको निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स माटो र लेदोमा पुरिएका छन्। ती उपकरणलाई सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ। सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवननजिकै हेलिकप्टरबाट उद्धार तथा प्राविधिक टोली उतारेर उपकरण निकाल्ने योजना बनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीको जोखिम कायमै रहेकाले आयोजना क्षेत्रमा उद्धार, क्षति आकलन तथा महत्वपूर्ण संरचना र उपकरणको सुरक्षाका लागि सरकारले पूर्ण सतर्कताका साथ आवश्यक काम अघि बढाइरहेको जनाएको छ ।
