पोखरा । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल जारी गर्दै भोटेकोशी बाढी प्रभावितका लागि ४ करोड सहयोग गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपिल गरेका छन् ।विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेका छन्।
सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि यस समयमा संयम, धैर्य र आपसी सहयोग अत्यन्त आवश्यक रहेको अपिलमा उल्लेख छ। विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै एकजुट भएर विपद्को सामना गर्न र पीडितको साथमा उभिन आग्रह गरेका छन् ।
