काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित सर्वसाधारण, प्रभावितको खोज, उद्धार र राहतमा संलग्नलाई सुरक्षित स्थानतर्फ जानका लागि अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै तिब्बततर्फ ड्याम फुटेकाले पुनः बाढी आउने सम्भावना रहेको हुँदा सुरक्षित स्थानतर्फ जानका लागि अनुरोध गरेको हो ।
तिब्बतर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्ती तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ, नेपाल प्रहरीले भनेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको बताएका थिए । उनले भनेका थिए, मैले जानकारी पाउनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायमा जानकारी गराएँ र त्यहीअनुसार समन्वय भइरहेको छ ।
चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल ९ब्यारियर लेक० बनेको बिहीबार जानकारी दिएको थियो । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको थियो । तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन् । तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ । भोटेकोशी नै त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो ।
