धुन्चेबजार ( रसुवा ) । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनः स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ । सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउन नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हवाई साधन निरन्तर परिचालन गरिएका छन् ।
नेपाली सेनाले बिहीबार साँझसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट ११९ विदेशी नागरिकसहित ७०० जनाको हवाई उद्धार गरेको छ । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हालसम्म ११९ जना विदेशी नागरिकसहित ९०० भन्दा बढीलाई सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिनुभयो । उहाँले खोज तथा उद्धारको काम शुक्रबार पनि जारी रहने बताउँदै अहिले उद्धार, खोजी र राहतमा केन्द्रित रहेको र त्यसपछि पुनः स्थापनाको काम अघि बढाइने बताउनुभयो ।
उद्धार गरिएका व्यक्तिलाई रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीस्थित बट्टार होल्डिङ सेन्टरमा राखिएको छ । बाढीपछि त्रिशूलीदेखि रसुवागढी नाकासम्मको करिब ८० किलोमिटर पासाङ ल्हामु राजमार्ग नै अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाइ भएको छ ।
खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जनशक्ति परिचालन गरिएको छ । बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार, राहत वितरण र शव व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन र सहजीकरणका लागि प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारसहितको टोलीले धुन्चेबजारमा पुगेर समन्वय सुरु गरेको छ । समग्र बाढीले पु¥याएको क्षति र खोज तथा उद्धारको प्रभावकारिताको निरीक्षणका लागि प्रधानमन्त्री शाह र सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, प्रधान सेनापति अशोकराज सिग्देललगायत विशिष्ट पदाधिकारीहरूले बिहीबार त्रिशूलीलगायत प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
तेह्र हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी सैनिकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि पर्याप्त टेन्टलगायत सामग्री पठाइएको छ । काठमाडौँबाट पठाइएका उद्धार तथा राहत सामग्री नुवाकोटको त्रिशूली र रसुवाको धुन्चेमा सङ्कलन गरी आवश्यकता अनुसार वितरण थालिएको छ ।
बिहीबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी बैठकले विभिन्न १२ क्षेत्रमा समन्वय गरी उद्धार तथा राहतका लागि संयन्त्र परिचालन गर्ने र मृतकको शव व्यवस्थापनसम्बन्धी कार्यविधि तयार गर्ने निर्णय गरेको छ । यसैबिच बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुगेका शवको खोजी तथा व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ । बिहीबार साँझसम्म आठ जिल्लामा ३८९ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको छ । यस्तै एक हजार जना बेपत्ता छन् ।
