काठमाण्डौं । चीनको तिब्बतबाट आएको ठूलो बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। प्रधानमन्त्री राहत कोष, गृह मन्त्रालयलगायतबाट आवश्यकताअनुसार रकम परिचालन गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्रालयले जानकारी दिएको हो।
त्यस्तै विश्व बैंकबाट २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ। ‘हामी विपद् व्यवस्थापन गर्न र स्रोत व्यवस्थापन गर्न केन्द्रित छौँ। दातृ निकायसँग निरन्तर संवाद गरिरहेका छौँ,’ अर्थसचिव डा. घनश्याम उपाध्यायले भने। विपद् व्यवस्थापनका लागि १० वटा बैंकमा खाता खोलेर आवश्यक समन्वय मिलाइएको हो। सरकारले तत्काल आवश्यक पर्ने उद्धार, राहत र अन्य व्यवस्थापनका काममा यही स्रोत परिचालन गर्ने जनाएको छ।
विश्व बैंकबाट २५ अर्ब
सरकारले छुट्याएको २० अर्ब रुपैयाँभन्दा अलग विश्व बैंकको ‘क्याट डिडीओ र्यापिड रेस्पोन्स’ सुविधामार्फत करिब २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुट्ने भएको छ। त्यसका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाउन भनिएको छ। अहिले उपलब्ध स्रोतलाई तत्काल परिचालन गर्ने र आवश्यकताअनुसार थप स्रोतको व्यवस्था गर्ने गरी काम भइरहेको छ,’ अर्थसचिव उपाध्यायले भने।
