काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी ( एसीटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा दिउँसो ३.१५ बजे सुरु हुनेछ। नेपालले प्रतियोगितामा तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य देखाएको छ।
यता एसीटीले तीनवटै खेलमा हार बेहोरेको छ। आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने र अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ। एसीटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
