बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बिहानदेखि सडक अबरुद्ध गरेर सुरु गरिएको प्रदर्शन आजपनि जारी छ।
पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ। सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ।
