काठमाण्डौं । प्रतिनिधिसभा सदस्य आशिका तामाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले संसद्मा कविता सुनाउँदै सर्वसाधारणले ग्यास नपाएर भोगिरहेको समस्यालाई सुनाएकी हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले ग्यासको अभावका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएको बताइन्। उनले कविता मार्फत भनिन्, ‘ग्यास ग्यास ग्यास, भएन भने रोकिन्छ खाने घास। हातमा छ क्यास तर बजारमा छैन ग्यास।’
ग्यास वितरणमा पहुँचवालाहरूले बढी सिलिन्डर लैजाने गरेको भन्दै उनले सर्वसाधारण मर्कामा परेको बताइन्। ‘पहुँच हुनेवालाहरूले लान्छन् छानी–छानी, तीनवटासम्म भरिभरि सिलिन्डरका ग्यास, अनि हुँदैन त छिमेकीको घरमा हाहाकार, भोक र प्यास,’ उनले कवितामार्फत भनिन्।
सरकारले बजारमा पर्याप्त ग्यास रहेको भन्दै जनता खाली सिलिन्डर बोकेर सडकमा उभिन बाध्य भएको बताइन्। ‘सरकार भन्छ पुग्ने छ ग्यास, जनताहरू रातदिन खाली सिलिन्डर बोकी सडकमा छन् उठीबास,’ उनले सुनाइन्। ग्यास अभावले सर्वसाधारणको दैनिक जीवनमा पारेको असरलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको आशय थियो।
सांसद तामाङको कविता
ग्यास, ग्यास, ग्यास
भएन भने रोकिन्छ खाने गाँस
हातमा छ क्यास
तर, बजारमा छैन ग्यास
पहुँच हुनेवालाहरूले लान्छन्
छानीछानी भरि सिलिन्डर तीन वटासम्म ग्यास
अनि हुँदैन त छिमेकीको घरमा
हाहाकार, भोक र प्यास
सरकार भन्छ– पुग्नेछ ग्यास
जनताहरू रात–दिन सडकमा छ
बोकी सिलिन्डर बोकी उठीबास
थानकोटको मान्छे
खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु
यीनका मनको पीडा म कहाँ गइ पोखुँ
लाग्दछ, मलाई रमाइलो
मेरै पाखा पखेरो
हिमाल फेदी मुन्तिर
कहिले बन्छ ग्यास भर्ने पँधेरो।
