काठमाण्डौं । नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्याको पहिचान गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो। उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।
शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्। नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। त्यस्तै, तिब्बती शरणार्थी तीन हजार ५२७ जना रहेका छन्। यसैगरी, रोहिंगा शरणार्थी ५२७ जना रहेको प्रवक्ता काफ्लेले बताए।
नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष रहेको उनले जानकारी दिए। उनीहरूमध्ये २१६ बालबालिका रहेका छन्। प्रहरीका अनुसार, रोहिंगा शरणार्थी काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्।
