काठमाण्डौं । नेपालमा डेंगु सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । हालसम्म ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी ) का अनुसार गत पुस महिनायता सङ्कलित तथ्याङ्कले देशभर डेंगुको जोखिम बढ्दो क्रममा रहेको देखाएको छ। वर्षायाम सुरु भएसँगै सङ्क्रमण थप विस्तार हुने सम्भावना उच्च रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
ईडीसीडीअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगुको प्रभाव सबैभन्दा बढी कोशी र गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाको तथ्याङ्कअनुसार कोशी प्रदेशमा ५६८, गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेसमा ७२ र कर्णालीमा ४२ जना सङ्क्रमित भएका छन्।
नेपालमा डेंगु अब सामान्य मौसमी समस्या मात्र नरहेको देखिन्छ। पहिलोपटक सन् २००४ मा चितवनमा डेंगुका बिरामी भेटिएका थिए। सुरुमा तराईका जिल्लामा सीमित रहेको सङ्क्रमण जलवायु परिवर्तन, अनियन्त्रित सहरीकरण र वातावरणीय परिवर्तनका कारण अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रसम्म फैलिइसकेको छ।
विगतका वर्षहरूमा डेंगुले नेपालमा ठूलो जनस्वास्थ्य चुनौती सिर्जना गरेको छ।सन् २०१९ मा देशभर करिब १७ हजार ९ सय ९२ जनामा डेंगु पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो। उक्त वर्ष डेंगु तराईबाट फैलिँदै काठमाडौँ उपत्यका र पहाडी जिल्लासम्म पुगेको थियो। त्यसपछि सन् २०२२ मा नेपालको इतिहासकै सबैभन्दा ठूलो डेंगु महामारी देखियो। सो वर्ष ५४ हजार ७९७ जना सङ्क्रमित भएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। अस्पतालहरूमा बिरामी राख्ने शैयासमेत अभाव हुने अवस्था सिर्जना भएको थियो।
सन् २०२३ मा पनि डेंगुको प्रभाव कायमै रह्यो। उक्त वर्ष ५१ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने कम्तीमा २० जनाको मृत्यु भएको थियो। सुनसरीलगायतका जिल्लामा सङ्क्रमणले गम्भीर रूप लिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार विगतका महामारीहरूले समयमै तयारी, प्रभावकारी निगरानी र समुदायस्तरको सहभागिता नहुँदा डेंगु नियन्त्रण कठिन हुने देखाइसकेको छ ।
‘खोज र नष्ट गर’ अभियानमा जोड
महाशाखाले वर्षायाममा पानी जम्ने स्थान बढ्ने भएकाले ‘एडिस’ जातको लामखुट्टेको प्रजनन तीव्र हुने जनाएको छ। जोखिम न्यूनीकरणका लागि साउनदेखि तीन महिने डेंगु सचेतना अभियान सञ्चालन गरिएको डा। दाहालले जानकारी दिनुभयो।
अभियानअन्तर्गत समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विशेषज्ञहरूले घर, आँगन, गमला, पुराना टायर, एसी तथा फ्रिजको पछाडि पानी जम्न नदिन आग्रह गरेका छन्। लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने, झुल तथा लामखुट्टे भगाउने मलम प्रयोग गर्ने सुझाव दिइएको छ।
उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, अत्यधिक थकानजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन पनि आग्रह गरिएको छ। स्वास्थ्य अधिकारीहरूले डेंगु नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तह, समुदाय र प्रत्येक नागरिकको सक्रिय सहभागिताबाट मात्र सम्भव हुने बताएका छन्।
