काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिप्रति कडा आलोचना गर्दै देशको राजनीति अझै सहज भइनसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन भएको केही समय बितिसक्दा पनि जनताको अपेक्षा अनुसार काम हुन नसकेको टिप्पणी गरे ।
सम्बोधनका क्रममा प्रचण्डले सरकारका पछिल्ला क्रियाकलापहरू जनअपेक्षा विपरीत रहेको बताए । ‘सरकारप्रति जनताको जुन अपेक्षा थियो, यो बिचका क्रियाकलाप त्यस्तो रहेनन्,’ उनले भने, ‘बरु सरकारका कामहरू एकपछि अर्को गर्दै नकारात्मक उदाहरण बन्दै गएका छन् । यसले राजनीतिलाई झन् जटिल मोडतर्फ धकेल्ने सङ्केत गरेको छ ।’
अध्यक्ष प्रचण्डले सुकुमबासी , ट्रेड युनियन र विद्यार्थीका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले भौगोलिक सिमानाको रक्षा र राष्ट्रिय स्वार्थका विषयमा पनि सरकारले ठोस कदम चाल्न नसकेको बताए । ‘राष्ट्रियता र जनजीविकाका सवालमा सरकारको प्रस्तुति फितलो देखिएको छ,’ उनले भने । देशको लगानी, उत्पादन, रोजगारी, राजस्व सङ्कलन र समग्र विकासका कार्यहरू ठप्प जस्तै रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । जनतामा निराशा छाएको उल्लेख गर्दै उनले भने, ‘जनता झन् भन्दा झन् झस्केका छन् । कतै तपाईँहरूले भनेको नयाँ व्यवस्था पुराना भन्दा पनि पछि पर्ने हो कि भन्ने गम्भीर चिन्ता र त्रास जनतामा देखिएको छ ।’
संविधान संशोधनको प्रसङ्ग उठाउँदै प्रचण्डले सरकारको नियतमाथि प्रश्न उठाए । उनले भने, ‘संविधान संशोधनको कुरामा सरकार जसरी प्रस्तुत भयो, यसले लामो त्याग र तपस्याबाट प्राप्त उपलब्धिलाई पुनर्लेखन गर्न खोजेको वा झन् कमजोर बनाउन खोजेको त होइन भन्ने आशङ्का जन्माएको छ ।’ माइतीघर मण्डलामा दिनदिनै भइरहेका विरोध प्रदर्शनहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । सडकमा देखिएको आक्रोशले मुलुकमा केही गम्भीर समस्या रहेको पुष्टि गर्ने उनको तर्क थियो ।
उनले अहिलेको सरकारलाई पनि असफल बनाएर नेपाललाई नै असफल राष्ट्र बनाउन त खोजिएको होइन भन्दै आशङ्का व्यक्त गरे । ‘अहिले जनताको अपेक्षा अनुसार काम नभएको कुरा जताकतै सुन्न थालिएको छ । यदि यही अवस्था कायम रहे यो सरकारलाई पनि असफल साबित गर्ने र अन्ततः नेपाललाई नै असफल राष्ट्र बनाउने खतरा बढ्दै गएको छ’ उनले भने ।नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले साम्प्रदायिक द्वेष बढाउने जोखिम रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उक्त घटनामा सुरक्षा निकायबाट गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषय निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताए। घटनालाई संवेदनशील रूपमा लिनुपर्ने भन्दै सामाजिक सद्भाव, मेलमिलाप र नेपालको गौरवशाली सहअस्तित्वको परम्परालाई जोगाउँदै परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।
उनले निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको बताउँदै जनताले परिवर्तनको अपेक्षासहित दिएको मतअनुसार परिणाम देखिन नसकेको बताए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले बुधबार गरेको सर्वदलीय बैठकलाई सकारात्मक पहलको रूपमा लिँदै सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।
तर, यस्ता संवेदनशील र महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवैको अनुपस्थिति चिन्ताको विषय भएको उनको भनाइ थियो। ‘सबैभन्दा नेतृत्वदायी भूमिका संवैधानिक, कानुनी र व्यवहारिक रूपमा प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो। तर यति महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित हुनु गम्भीर विषय हो,’ उनले भने।
