काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रहरी र सेना फिल्डमा उतारेर, ड्रोन आकाशमा उडाएर सुनसरी घटना समाधान नहुने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देशले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको बताइन्।
उनले भनिन्, ‘योभन्दा डरलाग्दा घटनाहरू आएका थिए। तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले सम्बोधन गर्थे। तर आज उहाँ कुन खोपीमा बसिरहनुभएको छ। आफ्नो फेसबुकको प्रशासन प्रणालीमार्फत गोली प्रहारबाट चलेका ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो ? ’
उनले सुनसरीमा गोली कसले चलाएको थियोरु भन्ने आफूहरूले जान्न चाहेको बताइन्। उनले थपिन्, ‘सत्तारुढ दलको सभापतिले जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनाकाण्ड फरक भएको भन्नुभयो। अवश्य पनि घटना, स्थान, प्रकृति, पृष्ठभूमि फरक हुन सक्छन्। तर त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ।’ राज्यबाट चलेका गोलीका घटनाहरूमा फरक मापदण्ड कसरी हुन सक्दछरु भन्दै प्रश्न गरिन्।
