काठमाडौं । नेकपा एमालेलेले सुनसरीको देवानगञ्ज गोलीकाण्ड र त्यसबाट उत्पन्त तनावप्रति सरकारको भूमिकामा प्रश्न उठाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाइन् । सबै सरोकारवाला, धार्मिक अभियन्तालगायतलाई धैर्य गर्न उत्तेजना, आबेग र प्रतिशोध नसाँध्न आग्रह गर्दै अर्यालले संयमता र शान्तिमा जुट्न आव्हान गरेकी छन् ।
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विषयमा उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री(गृहमन्त्री थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि रााजीनामा दिनुपर्छ थुनामा बस्नुपर्नेछ । अरुलाई फौजदारी कसुर थोपर्नेहरू आज घटनाको नैतिक जिम्मेवार लिन तयार छन् कि छैनन् ? ’
देशमा दंगा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको उनको टिप्पणी छ । प्रधानमन्त्री पद सिंहदरबारमा सजाउन नबनाइएको भन्दै उनले थपिन्, जनतालाई दुख पर्दा नेतृत्वमा देखिनुपर्छ । जनताका बीचमा देखिनुपर्छ । जनताको सुरक्षा र मुलुकलाई सुदृढ बनाउन सरकारलाई साथ सहयोग गर्न तयार छौँ । सरकार त्यो ढंगले प्रस्तुत होस् ।’
विगतमा कैलालीको टीकापुर, रौतहट गौर, नेपालगञ्जलगायतका ठाउँका घटना सम्झिँदै उनले सबैलाई एउटै मालाले एउटै सूत्रले जोडेर सामना गरेको अर्यालको भनाइ छ । सबैको प्रयत्नले जनतामा विश्वास जगाउनुपर्ने भन्दै अर्यालले सरकारले जनतालाई आशा जगाउने योजना ल्याए काँधमा काँध मिलाउन तयार रहेको बताइन् ।
