इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको घटना पछि अशान्त बनेको ईटहरी जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । सुरक्षाकर्मीको निगरानी, स्थानीय समुदायको संयमता तथा विभिन्न पक्षबाट भएका सद्भाव र शान्ति स्थापनाका पहलका कारण छिटपुट घटनाबाहेक जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिबाट मात्र सुरक्षा स्थिति नियन्त्रणमा आउन नसकेपछि सशक्त रूपमा नेपाली सेनाको टोली परिचालन भएर प्रभावित क्षेत्रका बजार, बस्ती र सडक राजमार्गमा बाक्लो गस्ती गर्न थालेपछि जिल्लामा आज कुनै पनि अप्रिय घटना भएन । घटनापछि सरकारले गठन गरेको छानबिन समितिले आफ्नो काम तीव्र बनाएको छ ।
समितिले बुधबार दिनभर घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीडित परिवारसँग भेटघाट, घटनास्थलको स्थलगत निरीक्षण, प्रमाण तथा तथ्य सङ्कलन, सरोकारवाला र प्रत्यक्षदर्शीसँग छलफल, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी घटनाका विविध पक्षबारे जानकारी लिने काम गरेको छ । मृतकको परिवार र घटनास्थल रहेको कप्तानगन्ज पुग्नुभएका समितिका संयोजक नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाले पीडित पक्षको गुनासो, स्थानीयको धारणा तथा घटनाको वास्तविकता बुझ्न प्रारम्भ गरिएको बताउनुभयो । देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज घटनाको छानबिन समितिका पदाधिकारी मृतक ओमप्रकाश मेहताको घरमा पुगेको छ ।
मृतकको बुवा किसुनदेव मेहताले आफ्नो मृतक छोरालाई सहिद घोषणा गर्नुपर्ने, कमाउने एक मात्रै छोरा गुमेकाले क्षतिपूर्ति दिनुपर्ने र सबै समुदायको शान्तिसुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्नुभएको छ । देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहतालाई समेत छानबिन समितिले भेटेको संयोजक थापाले जानकारी दिनुभयो । उहाँले घटनाको सूक्ष्म छानबिन, अनुसन्धान र यथार्थ विवरण सङ्कलन गरी निष्पक्ष प्रतिवेदन तयार पारेर गृह मन्त्रालयलाई बुझाउने उहाँको भनाइ छ । यस क्रममा समाजमा शान्ति, सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता थप सुदृढ बनाउने उद्देश्यले नागरिक समाज इटहरीको आयोजनामा बुधबार इटहरीमा बृहत् सद्भाव ¥याली सम्पन्न भएको छ ।
इटहरी चोकबाट सुरु भएको ¥यालीमा नागरिक समाजका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हिन्दु, मुस्लिम, क्रिस्चियन धर्मावलम्बी तथा उनीहरूका समुदायका अगुवा, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा तथा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।
¥यालीपछि आयोजित कोण सभामा वक्ताले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबै समुदायबिचको आपसी विश्वास, सम्मान र सहअस्तित्वलाई अझ बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । पछिल्ला केही घटनालाई लिएर समाजमा भ्रम, अविश्वास र विभाजन सिर्जना गर्ने प्रयास हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा पूर्वमन्त्री रामकुमार सुब्बाले जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राईले कुनै पनि घटना वा परिस्थितिलाई आधार बनाएर समाजमा धार्मिक, जातीय वा साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधि स्वीकार्य नहुने बताउनुभयो । सामाजिक अभियन्ता कमलेश शर्मा पौडेलले नेपाली समाजको पहिचानै विविधताबिचको एकता भएकाले त्यसलाई जोगाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
उता मुस्लिम बाहुल्य रहेको हरिनगर गाउँपालिकाको रामनगर भुटाहा गाउँपालिकाले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय भेलामा सहभागी सामाजिक अगुवाले देवानगन्जको घटनापछि विभिन्न माध्यमबाट फैलाइएका अपुष्ट सूचना र अफवाहले समाजमा थप तनाव उत्पन्न गर्न सक्ने भएकाले सत्यतथ्य बुझेर मात्रै अभिव्यक्ति दिन तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । शान्ति, कानुनी शासन र आपसी विश्वास कायम राख्दै सामाजिक सद्भावलाई अझ मजबुत बनाउन सबै समुदाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायबिच निरन्तर सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले बताउनुभयो ।
