काठमाण्डौं। नेपाली बजारमा स्मार्टफोनको माग झन् महँगा र प्रिमियम मोडलतर्फ सर्दै गएको देखिएको छ। गत आर्थिक वर्ष २०८२र८३ मा नेपालले ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा स्मार्टफोन आयातको संख्या सामान्य मात्र बढे पनि आयात मूल्य भने उल्लेख्य रूपमा बढेको छ।
स्मार्टफोन आयातबाट सरकारले गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात हुँदा ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ विदेशिएको थियो भने त्यसबाट ६ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको थियो।
विभागको तथ्यांकअनुसार नेपालको व्यावसायिक स्मार्टफोन बजारमा चीन र भारतको लगभग पूर्ण वर्चस्व कायम छ। गत आर्थिक वर्षमा चीनबाट मात्रै १८ लाख ८९ हजार ६ सय ६४ थान स्मार्टफोन आयात भएको थियो। जसको कुल मूल्य ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ रहेको छ। चीनबाट आयात भएका स्मार्टफोनबाट मात्रै सरकारले ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
यसैगरी, भारत दोस्रो ठूलो आपूर्तिकर्ता मुलुक बनेको छ। गत आर्थिक वर्षमा भारतबाट ३ लाख ६४ हजार ८ सय ४२ थान स्मार्टफोन आयात हुँदा त्यसको कुल मूल्य १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ पुगेको छ। अमेरिका, अस्ट्रेलिया, जापान, यूएई, दक्षिण कोरिया लगायतका अन्य देशहरूबाट पनि स्मार्टफोन भित्रिने गरे पनि ती प्रायः व्यक्तिगत प्रयोग वा सीमित परिमाणमा मात्रै आयात हुने गरेको तथ्यांकले देखाएको छ। व्यावसायिक रूपमा आयात हुने कुल स्मार्टफोनमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा चीन र भारतले मात्रै ओगटेका छन्।
