काठमाण्डौं । । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले बुधबार इरानका सैन्य लक्ष्यहरूमाथि पुनः हवाई आक्रमण गरेको छ। स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई धम्की दिन प्रयोग गरिएका इरानी सैन्य क्षमताहरू र बन्दरगाहमा नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको एक जहाजलाई लक्षित गरी अमेरिकाले आक्रमण गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई संयम अपनाउनु राम्रो भन्दै चेतावनी दिएका छन्। इरानसँगको युद्ध अन्त्य गर्नका लागि गरिएको प्रारम्भिक सम्झौता पाँचौँ दिनमा पुग्दा दुई देशबीच पुनः सैन्य तनाव चुलिएको छ। यता, इरानले पनि बहराइन र कुवेत लगायतका क्षेत्रमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। इरानका प्रमुख वार्ताकार मोहम्मद बाकर कालिबाफले यदि सम्झौताबाट इरानले लाभ पाउन सक्दैन भने त्यसलाई पालना गर्नुको कुनै अर्थ नहुने बताएका छन्। उनले वार्ताका साथै युद्ध पनि प्रतिरोधको रणनीति अन्तर्गत रहेको उल्लेख गरेका छन्।
ट्रम्पले इरानले आगामी सातासम्म वार्तामा नआएमा त्यहाँका पुल र ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। साथै, उनले इरान अहिलेको अवस्थाबाट सन्तुष्ट नरहेको र सम्झौता गर्न आतुर रहेको दाबी गरेका छन्। यसअघि ट्रम्पले होर्मुज जलमार्गमा २० प्रतिशत कार्गो शुल्क लगाउने धम्की दिएका थिए, तर पछि त्यसलाई फिर्ता लिँदै खाडी मुलुकहरूसँग व्यापार र लगानीु को नयाँ रणनीति अघि सारेका थिए।
यस आक्रमणलाई अमेरिकाले इरानको आक्रमण क्षमतालाई थप कमजोर पार्नेु प्रयासका रूपमा व्याख्या गरेको छ। बुधबार दिनभर गरिएको यो दोस्रो चरणको आक्रमणमा अमेरिकाले ग्रेटर टुनब टापुमा रहेका इरानको तटीय प्रतिरक्षा प्रणाली, क्रुज मिसाइल भण्डारण र प्रक्षेपण स्थलहरूलाई लक्षित गरेको थियो।
इरानका बन्दरगाहहरूमा अमेरिकाले पुनः नाकाबन्दी लगाएसँगै दुई देशबीचको सैन्य तनाव थप चर्किएको छ। मङ्गलबार साँझदेखि अमेरिकाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा जहाजहरूको आवतजावतमा रोक लगाएपछि हालसम्म दुईवटा व्यावसायिक जहाजहरूलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।
गत महिना भएको समझदारी अनुसार यो नाकाबन्दी हटाइएको थियो, तर हाल उक्त विवाद पुनः बल्झिएको छ। अमेरिकाको नाकाबन्दीको जवाफमा इरानको रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको हितमा रहेका अन्य तेल र ग्यास निर्यात मार्गहरू समेत बन्द गरिदिने चेतावनी दिएको छ। यद्यपि, इरानले कुन(कुन मार्गहरू प्रभावित हुन सक्छन् भन्नेबारे विस्तृत विवरण दिएको छैन।
यस तनावका कारण विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज हुँदै हुने ट्यांकरहरूको आवागमन ठप्पप्रायः भएको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ। ( एजेन्सीको सहयोगमा )
