काठमाण्डौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी फिफा विश्वकप ‘गोल्डेन बुट’ दाबेदारीमा शीर्ष स्थानमा उक्लिएका छन् । बिहीबार बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध २(१ को पुनरागमन जित निकाल्ने क्रममा ३९ वर्षीय मेसीले दुवै गोलमा उत्कृष्ट असिस्ट गरे । इंग्ल्याण्डविरुद्धको खेलमा आफैँले गोल गर्न नसके पनि दुईवटा असिस्ट थपेपछि मेसी सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पेभन्दा अगाडि निस्किएका हुन् ।
हालसम्म खेलिएका ७ खेलमा मेसी र एमबाप्पे दुवैको समान ८–८ गोल छ । तर, फिफाको नियमअनुसार गोल संख्या बराबर हुँदा असिस्ट संख्या हेरिने भएकाले ४ असिस्ट गरिसकेका मेसी शीर्ष स्थानमा उक्लिएका हुन् । एमबाप्पेको नाममा ३ असिस्ट मात्र छ । सेमिफाइनलमा स्पेनसँग पराजित भई फ्रान्स बाहिरिसकेकाले एमबाप्पेले अब तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध खेल्न बाँकी छ । उक्त खेलमा एमबाप्पेले गोल वा असिस्ट थप्न सकेमा मात्र मेसीलाई चुनौती पुग्नेछ । तर, मेसीको पनि फाइनल खेल बाँकी रहेकाले उनले पनि गोल र एसिस्ट थप्न सक्छन् ।
गोल्डेन बुटको होडमा रहेका अन्य प्रमुख खेलाडीहरूको चुनौती समाप्त भइसकेको छ । ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड यसअघि नै बाहिरिइसकेका छन् भने ६–६ गोल गरेका इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङघमको यात्रा सेमिफाइनलबाटै टुङ्गिएको छ । ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि रेसबाट बाहिर छन् । फाइनल पुगेको स्पेनका मिकेल ओयार्जुबाल ५ गोलसहित सातौँ स्थानमा छन् ।
