काठमाडौँ । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका गणेश नेपालीको स्वास्थ्य गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले नेपालीलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जानकारी गराए । मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था जुनसुकै समयमा बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अस्थिर रहेको र जुनसुकै समयमा थप विग्रन सक्ने जानकारी दियो । अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको उनले बताए । शरीरको भित्री अंगहरूमा पनि असर पुगिसकेको र यति धेरै जलेको बिरामीलाई बचाउन निकै गाह्रो हुने उनको भनाइ छ ।
‘धेरै ठूलो जलन भइसकेपछि शरीरको अरु अंगलाई पनि असर गर्छ । बिरामीको ब्लड सुगर ३०० भन्दा नाघेको छ । तै पनि हामी प्रयासरत छौँ,’ उनले भने । अनुहारमा आगो लागेर स्वास प्रश्वासमा असर गरेपछि बिरामीलाई जोगाउन जटिल हुने भए पनि आफूहरूको प्रयास जारी रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए । वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् । बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ।
