काठमाडौं । चालु आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द भएका छन्। हिजो रातिदेखि सात दिनसम्मका लागि खाताहरु बन्द गरिएका हुन्। आर्थिक वर्ष २०८२/ ८३ को बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले ३३ अर्बको भुक्तानी दिएको छ। असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
योसँगै चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। योसँगै सरकारको कुल बजेट खर्च ७९.६९ प्रतिशत अर्थात १५ खर्ब ६५ अर्ब मात्र पुगेको छ। चालुतर्फ ८८.३ प्रतिशत बजेट खर्च हुँदा पूजितगत खर्च ४४.५१ प्रतिशतमै सीमित भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्बको बजेट ल्याएको थियो। सरकारले १३ खर्ब २५ अर्ब राजश्व उठाउने लक्ष्य लिए पनि ८०.२ प्रतिशत अर्थात १० खर्ब ६३ अर्ब मात्र उठाउन सकेको छ। पाँच खर्ब ३४ अर्ब विदेशी अनुदान उठाउने लक्ष्य लिएकोमा २ खर्ब ८८ अर्ब रुपैयाँ मात्र उठेको छ। आजदेखि असार ३२ गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द भएको छ।
