काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद ९डीपी० अर्यालले सांसदहरूलाई संसद्भित्रको भूमिका थप जिम्मेवार, अध्ययनशील र प्रभावकारी बनाउन आग्रह गरेका छन्। संघीय संसद् सचिवालयद्वारा प्रतिनिधि सभाका सदस्यहरूका लागि आयोजित ‘संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०८३’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले सांसदहरू जनताको विश्वासबाट निर्वाचित प्रतिनिधि भएकाले उनीहरूको व्यवहार, प्रस्तुति र कामकारबाहीलाई देश–विदेशबाट नजिकबाट नियालिने बताएका हुन्।
उनले सांसदहरूलाई सिकाउनुपर्नेभन्दा पनि यो कार्यक्रम अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा आयोजना गरिएको उल्लेख गरे। सभामुख अर्यालले प्रतिनिधि सभा तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले कानुन निर्माण, संशोधन र संविधान कार्यान्वयनका विषयमा सांसदहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए।
बदलिँदो विश्व र तीव्र गतिमा विकास भइरहेको प्रविधिसँग सांसदहरू पनि आफूलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले आफ्ना व्यवहार, बोली, प्रस्तुति र सार्वजनिक जीवनका हरेक गतिविधि जनताले निरन्तर मूल्यांकन गरिरहेको उल्लेख गरे।
उनले सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै जानेर वा नजानेर हुने कमजोरी सच्याउनुपर्ने बताए। सभामुख अर्यालले संसद् सदस्य हुनुअघिको निजी जीवन र अहिलेको सार्वजनिक जीवनबीच ठूलो अन्तर हुने भन्दै त्यसअनुसार व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राखे। उनले संसद् सचिवालयका अभ्यास, संसदीय प्रक्रिया र प्रभावकारी प्रस्तुति सम्बन्धी अनुभव आदानप्रदानका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नभएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। उनले समयपालन र अनुशासनमा सांसदहरू अझ गम्भीर हुनुपर्ने बताए। सांसदहरूबीच कानुन निर्माण, व्यवहार र प्रस्तुतिमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रमले आगामी प्रतिनिधि सभा बैठकहरूमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे।
उनले सांसदहरूलाई कार्यक्रम अवधिभर मोबाइलमा अनावश्यक समय नबिताई पूर्ण ध्यानका साथ सहभागी हुन आग्रह गर्दै यस कार्यक्रमबाट सिकेका कुरा आगामी संसदीय अभ्यासमा देखिनुपर्ने बताए।
