नेपालगन्ज । असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुनः तीन दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो। असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म तीन दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताउनुभयो।
यसअघि पनि अत्यधिक गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा बिदा दिएको थियो। तर वर्षा नपरेपछि गर्मी अझै घट्न नसक्दा जनजीवन प्रभावित बनेको र पुनः बिदा दिनु परेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत शाहीले बताउनुभयो।
अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझावका आधारमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताउनुभयो। उहाँका अनुसार नगरभित्रका धेरै अभिभावकले विद्यालय बिदा गर्न आग्रह गरेकाले पनि उक्त निर्णय गरिएको हो।
