काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले नेपाल र भारतबिचको परम्परागत सम्बन्धलाई भूराजनीतिक असमझदारीबाट माथि उठाएर आर्थिक साझेदारी र विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
भारतीय जनता पार्टी ( भाजपा ) को निमन्त्रणामा सोमबारदेखि पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले प्रतिष्ठित भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक विशेष लेख प्रकाशित गर्दै सन् २०२६ को वर्तमान समय दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर भएको उल्लेख गरेका हुन्। नेपालमा रास्वपाको उदयलाई सडक हिंसा वा सैन्य विद्रोह नभई शान्तिपूर्ण ुमतदान क्रान्तिु को रूपमा चित्रण गर्दै उनले नयाँ पुस्ता पुरानो राजनीतिक बोझ र पूर्वाग्रहबाट सर्वथा मुक्त रहेको स्पष्ट पारेका छन्।
लामिछानेले तीव्र गतिमा अघि बढिरहेको भारतीय अर्थतन्त्रको प्रशंसा गर्दै नेपाल अब छिमेकीको विकास यात्रामा प्रत्यक्ष साझेदार बन्न चाहेको बताएका छन्। उनले सिमाना मात्र जोड्ने पुरानो सोच त्यागेर दुवै देशको अर्थतन्त्रलाई गति दिने गरी सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिएका छन्।
यसका लागि प्रस्तावित रक्सौल(काठमाडौं रेलवे लाइनको द्रुत निर्माण, पोखरा र लुम्बिनीबाट भारतका प्रमुख सहरहरूमा सीधा उडान, तथा काठमाडौं–बेंगलुरु डिजिटल करिडोरु जस्ता महत्त्वाकांक्षी परियोजनाहरूको परिकल्पना उनले अघि सारेका छन्। नेपालको प्रचुर जलविद्युत् क्षमता भारतीय औद्योगिक कोरिडोरका लागि स्वच्छ ऊर्जाको मुख्य स्रोत बन्न सक्ने उनको विश्वास छ।
आर्थिक सहकार्यका साथै लामिछानेले शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा संस्थागत साझेदारीको खाका प्रस्तुत गरेका छन्। नेपालमा भारतीय प्रविधि संस्थान ( आईआईटी ) र अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्स ) जस्ता प्रतिष्ठित संस्थाहरू स्थापना गर्ने, वित्तीय प्रविधि ( फिनटेक ) र सीमापार डिजिटल भुक्तानीलाई सहज बनाउने तथा सीमा क्षेत्रमा रासायनिक मल कारखाना खोल्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
यति मात्र नभई, नेपाली खेलाडी र रंगशालाहरूलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को व्यावसायिक खेल संरचनामा समेट्ने र दुई देशका साझा सांस्कृतिक धरोहरहरूलाई जोडेर एकीकृत पर्यटन परिपथ बनाउने नवप्रवर्तनात्मक प्रस्ताव समेत उनले गरेका छन्।छिमेकीहरूबिचका आपसी ( सीमासहित ) समस्याहरूलाई गलैँचामुनि लुकाएर साँचो मित्रता सम्भव नहुने भन्दै उनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा थाती रहेका विवादहरू सुल्झाउनुपर्ने कडा अडान राखेका छन्।
परम्परागत राजनीतिज्ञहरूले गर्ने अति –राष्ट्रवादी बयानबाजीको कडा आलोचना गर्दै लामिछानेले स्थिर र समृद्ध नेपाल नै भारतको उत्तरी सिमानाको प्राकृतिक रक्षाकवच ( रेलिङ ) भएको स्मरण गराएका छन्। विगतको ३० वर्षे अस्थिरता र भ्रष्टाचारको अध्याय समाप्त भइसकेको दाबी गर्दै उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संसद्मा देखाएको विश्वास र न्यानोपनलाई पुनर्जीवित गर्दै इमानदारी र व्यावहारिक पुल निर्माण गर्न भारतलाई आह्वान गरेका छन्।
