कैलाली । स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन भएको छ । नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच आज बिहान अस्पताल उदघाटन गरेका हुन् ।
विवाद कायम रहेका बेला अस्पताल उदघाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सडक क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको थियो । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी गत वैशाखमा पठाएको थियो । तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो ।
सोही विवादका कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको स्थानीयको दाबी छ । अस्पतालको विषयलाई लिएर मेयर शाहीका समर्थकहरूले प्रदर्शन र अवरोध गर्न सक्ने भन्दै आज बिहानैदेखि सुरुक्षा व्यवस्था कडा पारिएको थियो ।
बाक्लो सुरक्षा व्यवस्थाका बीच अस्पताल उद्घाटनपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नगर प्रमुखको अनुपस्थितिप्रति टिप्पणी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका थिए । लम्कीचुहा–२ का वडा अध्यक्ष सन्तोषकुमार ओलीले मुख्यमन्त्री शाहको प्रशंसा गर्दै उद्घाटन कार्यक्रम चारैतिर प्रहरी परिचालन गरेर गर्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । चारैतिर प्रहरी लगाएर उद्घाटन गर्नुपर्ने अवस्था राम्रो होइन । नगर प्रमुखलाई यहाँ देख्न नपाउनु दुःखद् हो,’ उनले भने, ‘अब विवाद बढाउनु हुँदैन ।’
