काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै हिंसात्मक घटनाको छानबिन गर्न माननीय लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छरु भन्दै प्रश्न गरे।
उनले भने, ‘त्यो पनि संसद्ले जानकारी पाउनुपर्यो। २४ गते करिब १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेका थिए। यस्तो कहिल्यै नदोहोरियोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ, जनता त्यो चाहन्छन्। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्क्याउने र छलकपट गर्ने काम नहोस्। तुरुन्त सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही होस्।’
उनले सो घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
