काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋण वापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष ९सहुुलियत० नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो।
कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ। कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ।
तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट रु ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज रू आठ करोड ४६ लाख ९८ हजार र हर्जाना रू २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।
