सुर्खेत। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी ३८ सिटमा खुम्चिएको बताएका छन्। कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका हुन्।
दुई दिने गोष्ठीको पहिलो दिन झण्डै १ घण्टा बोलेका खड्काले अनावश्यक रुपमा गरिएको विशेष महाधिवेशनले गर्दा प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिने अवस्था आएको बताए। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए।
उनले भने, ‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु। पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर।’ उनले अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको बताए। उनले सभापति गगन थापालाई भने, ‘अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाई सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्।
अदालतले जिताएर हामीले सभापति मानेका छौँ। सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस्।’ उनले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भनेर नरहने जिकिर गरे। कांग्रेसका तर्फबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, निर्वाचित जिल्ला समन्वय समिति प्रमुख एवं उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पनि सहभागी छन्।
