काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । सरकारले गठन गरेको छानबिन समितिबारे शुक्रबार प्रतिक्रिया दिँदै उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् । पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढेको थियो ।
त्यसपछि गुरुङले ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले कुनै छानबिन समिति गठन नगरेपछि भन्दै आङ्देम्बेले गत बुधबार संसद् बैठकमा सरकारको आलोचना गरेका थिए ।
संसद् बैठकमा सम्बोधन गर्दै उनले ‘पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरुलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन’ भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका थिए । सदनबाटै उनले ‘छानबिन समिति किन गठन भएन ? ’ भनेर सरकारसँग जवाफ माग गरेका थिए । त्यसको भोलिपल्टै बिहीबार सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गर्यो ।
