काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै साम्पाङले ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा मागेका हुन् । साम्पाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसद् र सार्वभौम जनताको अपमान गरेको टिप्पणी गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह डरपोकको संज्ञा दिएका छन्। उनले लेखेका छन्, ‘संसद्मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने। जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँस उठ्दो मजाक अरु छैन।’
हर्कले उठाएका ४ कारण यस्ता छन्
१. राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको ।
२. प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको
३. नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित भएको ।
४. प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको ।
साम्पाङले प्रधानमन्त्रीले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ । जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो रु यसले कस्तो नजीर बसाउँछ ? ’ संसदलाई छलेर अध्यादेशको बाटो हिँड्ने सरकारलाई संसदको औचित्य र शक्ति याद दिलाउनु पर्ने देखिएको हर्कले बताएका छन् ।
