काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रम सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले कामको मूल्यांकन गर्न थालिसकेकाले त्यसतर्फ ध्यान दिन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
भोलिसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष झाले बताए। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो। कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन्। भोलि समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ।
१८२ सीट रहेको रास्वपाले यसअघि पनि सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो। संसदीय दलमा उपस्थित सबै सांसदको क्षमता विकासका लागि आयोजना गरेका कार्यक्रमलाई कम महत्त्व दिएको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘आफ्ना अन्य कामलाई प्रायोरिटीमा राख्नु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गरेको जस्तो महसुस पार्टीले गर्छ। पार्टीको तर्फबाट हामीले हेर्दा यी कुरालाई मूल्यांकन गरिने छ। त्यो सँगसँगै आज आयोजना गरिएको यो प्रशिक्षण कार्यक्रम अन्तिम पनि होइन, तर सुरुवात हो ।’
