काठमाडौँ । संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद् सर्वोच्च संवैधानिक निकाय हो । परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन् ।
मंगलबार राष्ट्रपतिद्वारा जारी अध्यादेश अनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ। अध्यादेशको दफा ६ को उपदफा ( ४ ) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीन सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने छ । परिषद्का अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था अध्यादेशको दफा ६ को उपदफा ( ५ ) को स्पष्टीकरणको खण्ड ( ग ) मा छ ।
परिषद्को पूर्ण ( ६ जना ) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्तावमा निर्णय गर्दा मत बराबर अर्थात् तीन÷तीनको संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ । गणपूरक संख्याको आधारमा संवैधानिक परिषद्को बैठक बसेको बैठकमा समेत सर्वसम्मत हुन नसके बहुमतवाट निर्णय गर्न सक्ने व्यवस्था छ।
