काठमाण्डौं । वर्षौंदेखि भाडा नतिरेका भृकुटीमण्डपका स्टलहरूमा ताला लगाइएको छ। समाज कल्याण परिषद् मातहत रहेको भृकुटीमण्डप भित्रको संरचना भाडामा लिई बक्यौता नबुझाउने २० संघ, संस्था र केही व्यवसायिक कबलमा समाज कल्याण परिषद्ले ताला लगाएको हो। प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएपछि ती संरचनामा ताला लगाइएको हो।
भाडा नतिर्ने २० संघ–संस्था र केही व्यवसायिक कबलमा ताला लगाइएको समाज कल्याण परिषदले जनाएको छ। भृकुटीमण्डप भित्रका ती संरचनाबाट ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। यसरी बक्यौता नबुझाउनेमा एमालेनिकट अनेरास्ववियुसमेत छ। उसले स्टल नम्बर ६० र ६१ उपयोग गरिरहेको छ। २०७७ सालदेखि संगठन बस्न थालेको र हालसम्म भाडा नबुझाएको परिषदको प्रतिवेदनमा उल्लेख छ। अनेरास्ववियु बिना निवेदन, बिना सम्झौता जबरजस्ती बसेको परिषद्ले जनाएको छ।
यस्तै पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले पनि बक्यौता बुझाएको छैन। राष्ट्रिय अपांग महासंघ, राष्ट्रिय फोटो पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ आदिले पनि स्टल उपयोग गरी हालसम्म बक्यौता बुझाएका छैनन्। परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए ।
सदस्यसचिव शर्माले अब भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।महिला तथा बालबालिका मन्त्री सीता बादीेको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।
