काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालमा भएका राजनीतिक परिवर्तनहरू ‘कोरा’ मात्र साबित भएको बताएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा एक भिडियो शुभकामना जारी गर्दै उनले दलहरूको राजनीतिक खिचातानीले देश पछाडि परेको र सधैँ प्रयोगशाला मात्र बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। देश तथा विदेशमा रहेका नेपालीमा सुख र शान्तिको कामना गर्दै पूर्वराजा शाहले विगतका कमीकमजोरी सच्याउँदै देशलाई प्रगतिको बाटोमा अघि बढाउनुपर्ने बताए।
शाहले भनेका छन्, ‘विधि, पद्धति र व्यक्ति बदलेर मात्र समग्र स्थिति नबन्ने रहेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ। सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्र हामी लाग्यौं, फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।’ उनले दलदलको खलबलमा देश दौडिए पनि राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि परेको र स्थिरता तथा निरन्तरता हराएको सुनाए।
सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिएका शाहले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । ‘पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
विगतका राजनीतिक परिवर्तनहरू केबल सतहु मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी उनले गर्ने गरेका थिए । तर, वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्दै उनले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन् ।
