पोखरा । नयाँ वर्ष २०८३ मनाउन पोखरामा ‘फेवा नव वर्ष महोत्सव २०८३’ सुरू भएको छ। लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडकमा आवागमन रोकेर महोत्सव आयोजना गरिएको हो। महोत्सवमा ३ लाख पर्यटक भित्रने अपेक्षा गरिएको आयोजक होटल संघ ९हान० पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी लगायत सडकमै राखिएको छ। आइतबार सुरू भएको महोत्सव वैशाख १ गतेसम्म चल्ने अध्यक्ष सुवेदीले बताए। नेपाली नयाँ वर्षका बारेमा पर्यटकलाई जानकारी होस् र नेपालीहरू नयाँ वर्ष मनाउन पोखरा आओस् भनेर हामीले सडक महोत्सव आयोजना गरेका हौं,’ उनले भने, ‘महोत्सवमा ३ लाख पर्यटक आउने अपेक्षा गरिएको छ।’
पोखरामा पर्यटन प्रवर्द्धन गर्न वर्षेनी आयोजना हुँदै आएको फेवा महोत्सवको यो २३ औं संस्करण हो। यसअघि कोभिड– १९ महामारीका बेला २ वर्ष महोत्सव रोकिएको अध्यक्ष सुवेदीले बताए। होटल संघले आयोजना गर्न थालेको यस महोत्सव सुरूवातको ५ वर्ष बन्द ठाउँमा अन्य मेला महोत्सव जसरी आयोजना गर्ने गरिएको थियौ। ५ औं संस्करणदेखि सडकमा खुला तरिकाले आयोजना गर्न थालिएको हो।
नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटक भित्राउन महोत्सवको पूर्वसन्ध्यामा देशका विभिन्न सहरमा पुगेर होटल संघले प्रवर्द्धनका कार्यक्रमसमेत आयोजना गर्दै आएको छ। यस वर्ष पूर्वको झापादेखि वीरगंज, हेटौंडा लगायतका सहरमा पुगेर प्रवर्द्धनका कार्यक्रम गरिएको होटल संघका सचिव पावती पाण्डेले बताइन्।
‘महोत्सव अगाडि हामीले देशको विभिन्न सहरमा पुगेर नयाँ वर्ष मनाउन पोखरा आउनुहोस् भनेर प्रवर्द्धन गर्छौं,’ उनले भनिन्, ‘पोखरामा बाह्य मात्र होइन, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि यो महोत्सव भूमिका खेलेको छ।’ महोत्सवको उद्घाटन गर्दै कास्कीका सिडिओ रूद्रादेवी शर्माले पोखराको पर्यटन क्षेत्रको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताइन्। देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरा भएकाले पर्यटकको सुरक्षामा विशेष ध्यान दिएको उनले बताइन्।
‘पोखरा सुरक्षित छ र पर्यटकको सुरक्षामा सरकारले विशेष चासो दिन्छ,’ उनले भनिन्, ‘नयाँ वर्ष मनाउन सडक महोत्सवले यहाँको संस्कृति, खाना र पर्यटनको प्रवर्द्धन गर्छ।’ पर्यटकीय नगरी पोखरामा पर्यटक स्तरका होटलहरूमा मात्र ४० हजार बेड छन्। पोखराको पर्यटन उद्योगमा करिब ८ खर्ब लगानी रहेकोमा ६ खर्ब होटल क्षेत्रमा मात्र रहेको अध्यक्ष सुवेदीले बताए। उनका अनुसार पोखराका होटलहरूले मात्र १५ हजार जनालाई रोजगारी दिएको छ। सडक महोत्सवमा पोखरा घुम्न आउने पर्यटकलाई होटलहरूले २५ प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ।
