काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा दिन निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सो निर्णय गरेको जानकारी दिए।
विज्ञप्तीमा अस्पतालहरूले आइतबारको हकमा आफ्नो वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने र यस व्यवस्थाको लागि कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै, मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा पनि सोहिअनुरुपको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विभाग हेर्ने मन्त्रालयलाई निर्देशन दिएको छ।
