काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार समानुपातिक तर्फबाट सांसद लामालाई उम्मेदवार बनाइएको हो। उनलाई रास्वपाले पनि समर्थन गरेको शाहीले जानकारी दिए ।
राप्रपाबाट उपसभामुखमा खुस्बु ओलीको चर्चा थियो । तर, उनले अनिच्छा देखाएपछि लामालाई छनोट गरिएको हो । सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्ने संवैधानिक वाध्यता छ । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।
संघीय संसद् सचिवालयले आजै अपराह्न २ बजेसम्म मनोनयनको समय तोकेको छ। तोकिएकै समयभित्र मनोनयन दर्ताका लागि संसद् सचिवालय जाँदै गरेको शाहीले बताए। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।
