काठमाण्डौं । इरान र इजरायलबिच दुई हप्ताको युद्धविराम घोषणा भएको केही घण्टा नबित्दै इजरायली सेनाले बुधबार लेबनानभर भीषण बमबारी गरेको छ। अल जजीराका अनुसार यस विनाशकारी आक्रमणमा परी कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने एक १६५ जनाभन्दा बढी घाइते भएका छन्। लेबनानको नागरिक रक्षा विभागले बेरुत, बेका उपत्यका, माउन्ट लेबनान र दक्षिणी क्षेत्रका विभिन्न गाउँहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ।
इजरायली सेनाले यसलाई मार्च २ यताकै सबैभन्दा ठूलो र समन्वित सैन्य अपरेशन भन्दै हिजबुल्लाहका एक सयभन्दा बढी कमाण्ड सेन्टर र सैन्य स्थलहरू ध्वस्त पारेको दाबी गरेको छ। आक्रमणपछि लेबनानका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको छ र चिकित्सकहरूलाई तुरुन्त सहयोगका लागि आह्वान गरिएको छ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले छ हप्ता लामो युद्धले इरानी शासनको ‘जग कमजोर पारेको’ दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित दुई हप्ताको युद्धविरामपछि जेरुसेलममा आयोजित एक कार्यक्रममा उनले इजरायलले इरानमा महत्वपूर्ण लक्ष्यहरू हासिल गरेको बताए।
नेतान्याहूले इजरायल जुनसुकै बेला लडाइँमा फर्कन तयार रहेको उल्लेख गर्दै पाकिस्तानको मध्यस्थतामा भएको युद्धविरामले आफू अलमल्लमा परेको भन्ने धारणालाई खारेज गरे। उता, विपक्षी नेता यायर लापिडले भने युद्धविरामलाई रणनीतिक विपत्ति भन्दै प्रधानमन्त्रीले इजरायलीहरूलाई ‘तोपको चारा’ बनाएको आरोप लगाएका छन्।
युद्धविरामको दायरालाई लिएर प्रमुख देशहरूबिच गम्भीर विरोधाभास देखिएको छ। प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति ट्रम्पले लेबनान यस सम्झौताको हिस्सा नभएको दाबी गरेका छन्। तर मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनान पनि सम्झौतामा समावेश रहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे। शरीफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सबै पक्षलाई संयम अपनाउन र सहमति अनुसार दुई हप्ताको लागि युद्धविरामको सम्मान गर्न हार्दिक र इमान्दारीपूर्वक आग्रह गर्दछु, ताकि द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कूटनीतिले नेतृत्वदायी भूमिका खेलोस्।’
लेबनानी संसदका सभामुख नाबिह बेरीले यस आक्रमणलाई ‘पूर्ण युद्ध अपराध’ को संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय समुदायको परीक्षा लिइरहेको बताएका छन्। हिजबुल्लाहले इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ। इरानले पनि इजरायलले आक्रमण नरोके कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘अमेरिकाले युद्धविराम वा युद्धमध्ये एउटा रोज्नुपर्छ।’
खाडी राष्ट्रहरू यस घटनाले युद्धविराम पूर्ण रूपमा ध्वस्त हुन सक्ने भन्दै अत्यन्तै चिन्तित छन्। युद्ध सुरु भएदेखि नै इरानी क्षेप्यास्त्र र ड्रोनको निसानामा परेका साउदी अरेबियाको रास तनुरा र यान्बु, संयुक्त अरब इमिरेट्सको हब्शान र कतारको रास लाफान जस्ता प्रमुख ऊर्जा सुविधाहरूमा थप क्षति पुग्ने डरले ती देशहरूले द्वन्द्व अन्त्यको माग गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा कतार, इजिप्ट र टर्किएले इजरायली कदमको कडा निन्दा गरेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नेतान्याहूले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरेको भन्दै युरोपेली संघलाई इजरायलसँगको सहयोग सम्झौता निलम्बन गर्न आग्रह गरे। संयुक्त राष्ट्र संघका अधिकार प्रमुख भोल्कर टर्कले युद्धविरामको केही घण्टाभित्रै भएको यस्तो नरसंहारले ‘विश्वासलाई अस्वीकार’ गरेको र यसले नाजुक शान्ति प्रक्रियालाई थप संकटमा पारेको बताएका छन्। एजेन्सी
