काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पदबहाली समेत गरे । मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।
पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै १ फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।
कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए । उनले केही समय राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।
