काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जवाफ दिन आग्रह गरेका छन् । फेवातालको २० रोपनी जग्गामा नाम मुछिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री गुरूङलाई जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका हुन् । ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्,’ अध्यक्ष साम्पाङले भनेको छन्, ‘नैतिकताको सवाल खडा भयो ।’
उनले फेवातालको जग्गाबारे उठेको सवालको जवाफ नदिए जनताले कुरा काट्ने र प्रहरीले पनि गृहमन्त्रीलाई टेर्न छाड्ने उल्लेख गरेका छन् । ‘अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्,’ साम्पाङले लेखेका छन्, ‘तपाईंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’ काम गर्ने मान्छेको खुट्टा तातिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन् ।
अध्यक्ष साम्पाङले आफूले सदनमा उठाएको जेनजी आन्दोलन र सहकारी ठगी प्रकरण मुद्दा नभुल्न पनि गृहमन्त्री गुरूङलाई आग्रह गरेका छन् । ‘उनले भनेका छन्, ‘तपाईंले जेन्जी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो, धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ । धन्यवाद छ ।अझै अघि बढ्नुहोस् शुभकामना छ,’ उनले लेखेका छन्, ‘तर, मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला । एक, जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही । दुई, जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने ।’
