काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् ।
उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’ कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ । सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ ।
आइतबार डोलप्रसाद ९डीपी० अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् । अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके । नेकपा एमालेले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।
